Add parallel Print Page Options

बडाहाकिम पिलातसद्वारा येशूलाई प्रश्नहरू

(मर्कूस 15:2-5; लूका 23:3-5; यूहन्ना 18:33-38)

11 येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”

येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”

12 जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।

13 अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”

14 तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।

येशूलाई मुक्त गर्ने पिलातसको चेष्टा असफल

(मर्कूस 15:6-15; लूका 23:13-25; यूहन्ना 18:39–19:16)

15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो। 16 त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बरब्बा थियो।

17 सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?” 18 पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।

19 पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”

20 तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।

21 पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?”

मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु होस्!”

22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?”

सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!”

23 पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।”

24 अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन्-झन् जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”

25 सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”

26 अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्ड्याएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।

पिलातसको सैनिकहरूद्वारा येशूको खिल्ली

(मर्कूस 15:16-20; यूहन्ना 19:2-3)

27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए। 28 तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए। 29 तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।” 30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। 31 जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।

Read full chapter