Add parallel Print Page Options

येशू पक्राउ पर्नु भयो

(मर्कूस 14:43-50; लूका 22:47-53; यूहन्ना 18:3-12)

47 जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए। 48 यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।” 49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।

50 येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।”

त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए। 51 जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो।

52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ। 53 तिमीलाई थाहा छ, मैले मेरा पितासँग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न? 54 तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।”

55 तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ। 56 तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे।

Read full chapter