Add parallel Print Page Options

केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्

(मर्कूस 12:13-17; लूका 20:20-26)

15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। 16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। 17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?”

18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? 19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। 20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”

21 ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।”

येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”

22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

Read full chapter