Add parallel Print Page Options

कसैले येशूमा शैतान भएको ठान्छन्

(मत्ती 12:22-32; लूका 11:14-23; 12:10)

20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन। 21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।

22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”

23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ? 24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन। 25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन। 26 जब शैतान, शैतानसँगै र आफ्नै मानिसहरूसँगै झगडा़ गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।

27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।

28 “म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ। 29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।”

30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।

Read full chapter