Add parallel Print Page Options

मोशाले मानिसहरूलाई आशीर्वाद दिन्छन्

33 परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो। मोशाले भने,

“परमप्रभु सीनैबाट आउनुभयो,
    परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो।
    उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो।
परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो।
    परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।
हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,
    उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्।
तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुशरण गर्छन्।
मोशाले हामीलाई व्यवस्था दिए।
    ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्।
त्यस समयमा, इस्राएलका मानिसहरू
    र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए
    अनि परमप्रभु यशूरूनका राजा हुनुभयो।

रूबेनको आशीर्वाद

“रूबेन जीवित रहुन्, र नमरोस्,
    तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।”

यहूदाको आशीर्वाद

मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः

“परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ।
    उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्,
उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।”

लेवीको आशीर्वाद

मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः

“लेवी तपाईंको साँच्चो चेला हो।
    उसले तुम्मीम र ऊरीम राख्छ।
तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो।
    मरीबाको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।
आमा-बाबुको विषयमा लेवीले भने,
    ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’
उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन,
    आफ्नो बाल-बच्चाहरू चिनेन।
तर उसले तपाईंका आज्ञाहरू पालन गरे,
    तपाईंको करार माने।
10 तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्,
    तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्।
तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्,
    तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”

11 “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्।
    उसले गरेका कुराहरू ग्रहण गर्नु होस्।
उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्।
    उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”

बिन्यामीनको आशीर्वाद

12 मोशाले बिन्यामीनको विषयमा यी कुरा भने:

“बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ।
    बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ।
परमप्रभुले उसलाई सधैँ रक्षा गर्नुहुन्छ।
    अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”

यूसुफको आशीर्वाद

13 मोशाले यूसुफ विषयमा यसो भनेः

“परमप्रभुले उसको भूमिमा
    आशिष दिऊन माथि आकाश
    र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।
14 घामले उत्तम फल उसैलाई देओस्।
    चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्।
15 पहाड प्राचीन पर्वतहरूले
    उत्तम फल तिनीहरूलाई उब्जाऊन्।
16 पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्।
    यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो।
    यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्।
17 यूसुफ शक्तिशाली साँढे जस्तै हो।
    उसका दुइ छोराहरू साँढेका सींगहरू जस्तै छन्।
तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन्
    अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्।
हो मनश्शेसित हजार मानिसहरू छन्
    अनि एप्रेमसित दश हजार मानिसहरू छन्।”

जबूलून र इस्साकारको आशीर्वाद

18 जबुलूनको बिषयमा मोशाले भनेः

“ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ,
    अनि इस्साकार आफ्नो घरमा पालभित्र हर्षित होऊ।
19 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्,
    त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्।
तिनीहरूले सागरबाट ऐश्वर्य
    अनि सागरको किनारबाट सम्पत्ति भेट्नेछन्।”

गादको आशीर्वाद

20 गादको विषयमा मोशाले भनेः

“परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो!
    गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्।
    तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।
21 उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्।
    उनले राजाको भाग नै लैजान्छन्।
उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्।
    परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्।
    उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”

दानको आशीर्वाद

22 दानको विषयमा मोशाले भनेः

“दान सिहंको छोरो हो
    जुन बाशानबाट उफ्रिन्छ।”

नप्तालीको आशीर्वाद

23 नप्तालीको विषयमा मोशाले भनेः

“नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ।
    परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ।
    तिमीहरूले गालील झिलको भूमि भेट्ने छौ।”

आशेरको आशीर्वाद

24 मोशाले आशेरको विषयमा यसो भनेः

“छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो।
    ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्।
    अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।
25 तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्।
    तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”

मोशा परमेश्वरको प्रशंसा गर्छन्

26 “यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन।
    परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर
    आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढ्नुहुन्छ।
27 परमेश्वर सधैँ बाँच्नु हुन्छ।
    उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ।
परमेश्वरको क्षमता सधैँका लागि रहन्छ।
    उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ।
परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ।
    उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
28 यसकारण इस्राएल सुरक्षित रहनेछन्
    अनि याकूबको इनार तिनीहरूको हुनेछ।
तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन्
    अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।
29 हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ,
    अरू कुनै जाति तिमी जस्तो छैन।
परमप्रभुले तिमीलाई जोगाउनु भयो।
    परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ।
    परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ।
तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन्
    अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”