Add parallel Print Page Options

40 परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः

“अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ।
    तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ।
    अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः

“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ।
    म तपाईंलाई के भन्न सक्छु?
म तपाईंलाई जवाफ दिन सक्तिनँ।
    म आफ्नो मुखमा हात राखी बस्नेछु।
मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन।
    मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”

तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयोः

“अय्यूब, आफैंलाई सम्हाल,
    अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।

“अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु?
    तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।
के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ?
    परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?
10 यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ।
    यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।
11 यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउनँ सक्छौ।
    ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।
12 हो, अय्यूब! ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ।
    ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।
13 सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ।
    तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।
14 अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु।
    अनि तिमीले आफ्नै शक्तिद्वारा आफैंलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।

15 “अय्यूब, जलगैंडा[a] लाई हेर।
    मैले जलगैंडा बनाएँ अनि मैले तिमीलाई बनाएँ।
    जलगैंडाले गाईले झैं घाँस खान्छ।
16 जलगैंडासँग शरीरमा एकदम ज्यादा ताकत छ।
    उसको भुँडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।
17 जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ।
    उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।
18 जलगैंडाका हड्डीहरू पित्तल जस्ता दह्रिला छन्।
    उसको खुट्टाहरू फलामका बारहरू जस्ता छन्।
19 जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ।
    तर म त्यसलाई पराजित गर्न सक्छु।
20 जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने
    घाँस खान्छ।
21 जलगैंडा कमलको उद्भिद् मुनि पल्टिन्छ।
    जलगैंडा झार पातको दलदलमा लुक्दछ।
22 कमल फूलको बोटले आफ्नो छाँयामा जलगैंडालाई लुकाउँदछ।
    त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।
23 यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन।
    यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।
24 कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन
    अनि पासो लगाउन सक्तैन।

Footnotes

  1. 40:15 जलगैंडा हिब्रू भाषामा “बिहिमय” छ। नेपालीमा यसको नाउँ “जलगैंडा” वा “गैंडा” अथवा एक प्रकारको “हात्ती” पनि हुन सक्छ।